बदलिएको बाटो

– राजेश खनाल


खै किन हो, त्यो बाटो मैले समाउनै सकिनँ ! जबकि पहिले त्यही बाटो भएर म हिँडेको थिएँ । लामै हिँडेको थिएँ । लामो पनि धेरै लामो, २०—२५ वर्ष लामो ।

त्यो बाटो हिँड्दा धेरै साथी बने । धेरैसँग सहयात्रा गरियो । यात्रासँगै जीवन–जगतका कुरा गरियो । सत्य र झुठका विषयमा चर्चा गरियो । ती सहयात्रीहरूसित हाँस्नु हाँसियो । रोइएन तर मन रोएको भाव अभिव्यक्त भयो— कैयन् समयमा ।

मन रोएको तिनले देखेनन् । देखिने त भक्कानिएको न हो । मनको भक्कानो कसले देख्ने र सुन्ने ! सम्भवतः क्षमता पनि थिएन होला ।

दिन बित्दै गए । यात्रा अघि बढ्दै गयो । सहयात्री थपिँदै गए । हठात् महसुस भयो— सहयात्रीका पाइलासँग मेरा पाइला मिलिरहेका छैनन् । मनमौजी मेरा पाइला, अरूका पाइलामा मिल्न सकिरहेका छैनन् ।

सहयात्री हुन् ती सबै । तिनीहरूसित पाइला मिलाउनै पर्छ । मनले आदेश दियो । म हतारिँदै अघि बढें । तर, पनि पाइला मिल्न सकेन ।

सहयात्रीहरूका पाइलाको गतिसँग मेरो पाइलाको गति मिल्न सकेन । सोचें— मैले मेरो पाइलाको गति बढाउनुभन्दा आफ्नै गतिमा हिँड्नु बेस् ।

मेरो पाइलाको गति पुरानै रह्यो । सहयात्रीहरूको गतिले अग्रगामी छलाङ लगायो । अचेल पनि मेरो पाइलाको गति बदलिएको छैन— बस् बाटोमात्रै बदलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *