डेङ्गी सङ्क्रमण भदौ र असोजमा उच्च हुनसक्छ, स्वास्थ्य मन्त्रालय,

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

एक वर्षको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गी सङ्क्रमण असारदेखि बढ्दै गइ भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार असोजपछि भने डेङ्गी सङ्क्रमण क्रमशः कम हुँदै जाने छ । उहाँले वर्षायाम शुरु भएसँगै असारको अन्तिम हप्तादेखि सङ्क्रमण ह्वात्तै बढेको बताउनुभयो । गएकाे वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भइ देशभरिका ७७ जिल्लामा फैलिएको थियो ।

‘बर्खायाम शुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ ।’ पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।

महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ । महाशाखाका निर्देशक डा मरासिनीले कार्ययोजनाअनुसार डेङ्गी रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *