नेपाल रेडक्रस सोसाइटी विद्यापुर उपशाखा सुर्खेतको १९ औं साधारण सभा सम्पन्न

रेडक्रस सबै ठाउँमा सबैका लागि भन्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी विद्यापुर उपशाखा सुर्खेतको १९ औं साधारण सभा आज सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका वडा नं. ९ को बिद्यापुरमा भएको साधारणसभामा नव निर्मित भवनको समेत उद्घाटन गरिएको छ ।
करिव २९ लाखको लगानीमा निर्माण भएको भवनको पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारी र उप प्रमुख मुक्ति रेग्मीले उद्घाटन गर्नुभएको शाखाका उप कोषाध्यक्ष रामबहादुर बिष्टले जानकारी दिनुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख मुक्ति रेग्मीले बिपत्तिमा रेडक्रसले गरेको काम प्रभावकारी भएको बताउनुभएको छ । पञ्चपुरी नगरपालिकामा भएको बिपदजन्य घटनाहरुमा रेडक्रसको साथ महत्त्वपूर्ण रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथि तथा नगरप्रमुख लालबीर भण्डारीले पश्चिम क्षेत्रमा बिद्यापुर रेडक्रस शाखाले दिएको सेवा प्रशंसायोग्य रहेको बताउदै भवन निर्माणले सेवा दिन थप सहज हुने बताउनुभएको छ । सामान्य आँखा जाच गर्न पनि सदरमुकाम धाउनुपर्ने बाध्यता निकै कम भएको र अब देखि सामान्य खालको आँखा अप्रेसनको लागि बिद्यापुरमै हुने बाताबरणको ब्यवस्थापन गर्ने बताउनुभएको छ । साथै भण्डारीले शाखाको नवनिर्मित भवनको थप ब्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकार संग पहल गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । साधारणसभा उपशाखाका अध्यक्ष रामप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *