सय दिनपछि वडाध्यक्ष सम्पर्कमा आए

 

अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नम्बर–२, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद)  हराएको एक सय दिन पछि सम्पर्कमा आउनु भएको छ  ।

शुक्रबार बिहान बुटवलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

उहाँ कहाँ र किन गएको भन्ने बारेमा जानकारी नगराएको तर आफू कुशल रहेको जनाएको अध्यक्ष आचार्यले बताउनुभयो । उहाँ भारतमा गएर बसेको हुन सक्ने आंकलन गरिएको छ  । तर किन र केकोलागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन ।

पुस २ गते मालारानी २ डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन हुनु भएको थियो ।  गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गएको भन्ने बारेमा थाहा हुन सकेको थिएन ।

प्रहरीले खोजी कार्य जारी राखेको थियो  । वडा अध्यक्षको  मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शासन्त बगैचामा रहेको सीसी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य प्रहरीले गरेको थियो ।  तर उहाँ कहा गएको भनेर पत्ता लाग्न सकेको थिएन ।

फर्निचरका सामान खरिद गर्ने भन्ने पनि आफन्तले भनेको आधारमा कपिलवस्तुको बहादुरगञ्जको प्लाइ उद्योग, कृष्णनगर नाकाको सीसी क्यामेराको फुटेज , बुटवल, भैरहवालगायत गोरुसिंगे–सन्धिखर्क सडकको जंगलहरुमा समेत खोजी गरिएको तर उनको अवस्था पत्ता लगाउन सकिएको थिएन । अहिले सम्पर्कमा आएको गाँउलेले जानकारी गराएका छन् प्रहरी नायब उपरीक्षक नवराज मल्लले भन्नुभयो ।

विनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर त्यसतर्फ लागेका र मोबाइलसमेत बसमा खसालेकोले मोबाइल बस चालकमार्फत घरमा ल्याइएको थियो ।

पुस २ गते सन्धिखर्कदेखि गोरुसिंगेसम्मको झन्डै ३ घण्टाको समयमा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र श्रीमतीसमेतले फोन गर्दासम्म वडा अध्यक्ष विनोदले फोन उठाउनु भएको थिएन ।

उहाँ तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको चुनावमा मालारानी–२, बाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *