नर्सिङ छोडे पाप लाग्छ, गायन छोड्नै सक्तिन

 

 

सरिता प्रजापती पेशाले नर्स हुन् । उनको परिवार धान्ने आम्दानीको स्रोत पनि नर्सिङ नै हो । तर उनी नर्सिङसँगै गायनमा पनि सक्रिय छिन् । भक्तपुरकी सरिता आधुनिकदेखि पपगीत सम्म गाउँछिन् । वि.सं. २०६७ सालमा पहिलो पटक ‘सुनिधी’ नामक गीति एल्बम निकालेकी उनले त्यसयता ५० भन्दा धेरै गीतमा आफ्नो स्वर भरिसकेकी छन् । हिँड्दा हिँड्दै…, सम्झनालाई जाले रुमाल…, ढाका टोपी… लगायतका गीत गाउने उनै सरितासँग बाह्रखरीले गरेको छोटो कुराकानीः
० ० ०
कसरी सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभयो ?
हाम्रो घरमा रेडियो नेपाल बजिरहन्थ्यो । त्यसमा गीतहरु बजेको सुन्थें म । घरमा बुबा भजन सुनिरहनुहुन्थ्यो । उहाँ भजन गुनगुनाउनु पनि हुन्थ्यो । त्यो बेला नारायण गोपाल अरुणा लामाका गीत मन पर्थे । राम थापाका लोक लयका गीत मलाई झनै आकर्षित गरेका थिए । उहाँका सुका पैसामा…, कटर कटरमा… मलाई खुब मनपथ्र्यो ।

गीतचाहिँ लोक र आधुनिक गीत मन पराउने तपाईं पप गीत गाउनुहहुन्छ नि किन ?
अहिले पनि मलाई आधुनिक तथा लोक गीत मनपर्छ । तर अहिलेको ट्रेन्ड र पुस्तालाई लक्षित गरेर गाउँदा पनि पप गीत गाएको हुँ । गुरुहरुले मेरो भोकलमा पनि पप गीत नै सुहाउँछ भनेकाले पनि पप गीत गाएकी हुँ ।

बजारमुखी बढी हुनुभएछ, बजारले आर्टलाई अन्याय गर्दैन ?
०६७ (सुनिधी) मा एल्बम निकाल्दा त्यसमा आधुनिक र पप दुबै प्याटर्नका गत थिए । स्टेज कार्यक्रममा जाँदा मैले सामान्य डान्सिङ नम्बर गाउँदा दर्शक झुम्नुभयो । त्यसपछि मलाई मेरो गुरुहरुले पनि तिमीलाई पप गीत नै ठिक हुनेरहेछ भन्नुभयो । त्यसैले जुरेको भन्छु ।

महिला त्यो पनि विवाहपछि सांगीतिक क्षेत्रमा प्रवेश गर्न र टिकीरहन कत्तिको सहज छ ?
सांगीतिक क्षेत्रमा मेरो सक्रिय प्रवेश विवाहपछि नै हो । विवाहपछि पनि बच्चा जन्मिसकेपछि हो । गाह्रो पक्कै पनि छ तर गाह्रो साह्रोको बीचमा पनि संघर्ष गरेर पाएको सफलता पो सफलता, सहजै प्राप्त गरेको उपलब्धीको त के महत्व हुन्छ र ? अहिले परिवारको जिम्मेवारीमा त छँदैछ साथै नर्सिङ पेशामा पनि आबद्ध छु, त्यसैले समय व्यवस्थापन गर्न चाहिँ कठिन छ । तर पनि म गायनलाई छोड्न सक्तिन ।

अन्य पेशा छाडेर मनले खाएको गायन क्षेत्रमा लाग्ने अवस्था छैन ?
त्यो चाहिँ मैले रिक्स लिन नचाहेको । मैले नर्सिङ छोडेर गायनमा मात्रै रहेर पनि बाँच्न त सकिन्छ किन भने मलाई स्वरले पनि साथ दिएको छ । तर, नर्सिङ पेशा पनि राम्रो पेशा हो । यो छोडेँ भने मलाई पाप लाग्छ । विरामीको सेवा गर्न पाइन्छ । यो बीचमा मैले विरामीबाट पाएको हौसला र परिवार तथा आफन्तको सहयोगलाई लत्याउन पनि सक्तिन । र, सुरुमा मलाई बाँच्ने आधार दिएको नर्सिङलाई मैले छोड्न पनि सकिन ।

गीत गाएर जिवीकोपार्जन गर्न गाह्रो छ भनेर नर्सिङ पेशा छाड्न नसक्नु भएको हो कि ?
गाह्रो नै छ संगीतलाई मात्रै पेशा बनाएर बाँच्न पनि । एक्कासी गीत चल्यो र स्टेज कार्यक्रम पायो भने त सकिन्छ । तर, कार्यक्रम पाइन्छ भन्ने पनि छैन । सम्बन्धले पनि प्रभाव पार्छ । आज नेपालमा मौलाएको समुदाय र जातजातीका कुराले पनि यसमा असर पारिरहेको छ ।

मौलिक गीतसंगीत ओझेलमा परे भन्ने गुनासो आइरहेको छ नि, किा आयो यस्तो अवस्था ?
हो, व्यावसायिकताका नाममा अस्वाभाविक र अनावश्यक ग्ल्यामर पस्किने क्रम बढेर गएको छ । मौलिक गीतसंगीत सुन्ने स्रोताहरु ठगिरहनु भएको छ । होला मैले पनि कति गर्न सकें या सकिन त्यो समीक्षाको विषय होला, तर पनि यसमा दृढ छु ।

पछिल्लो समय किन सिंगल ट्रयाक मात्रै निकाल्छन् गायक गायिकाहरु ?
गीत अब सुन्ने मात्रै रहेन, हेर्ने पनि भयो । गीत गायर मात्रै भएर त्यसको भिडियो पनि चाहियो युट्युबमा राख्नका लागि । पहिला जस्तो ७–८ वटा गीत गाएर ति सबै गीतको भिडियो बनाउन सकिने अवस्थाले पनि सिंगल ट्रयाकको जमाना आएको हो । लगानीका हिसावले उस्तै हो । सिंगल ट्रयाका र पहिलाको क्यसेटमा ७–८ वटा गीत रेकर्ड गर्नू ।

पछिल्लो समय गीतको गुणस्तर खस्कियो, स्वर्णीम युगका गीतसँग तुलना गर्न योग्य गीत नै आएनन् भन्ने गुनासो छ, यसमा सत्यता छ ?
अहिले पनि थुप्रै स्वर्णीम युगका गायक गायिकाको उचाइमा पुग्ने क्षमताका गायक गायिका हुनुहुन्छ । नाम लिँदा अन्याय हुन्छ होला तर पनि अञ्जु पन्तको नाम लिन्छु म । उहाँका गीत त्यो उचाईमा पुगे जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *