पातालगैरी सामुदायिक वनमा लाखौको रकम अनियमितता

सुर्खेत ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ११ मा रहेको पातालगैरी सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको पाइएको छ । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि नेपाली (दमाई), सचिव पूर्णिमा सिंह र कोषाध्यक्ष खड्क जैसीको संयुक्त हस्ताक्षरबाट संचालन भएको खाताबाट रकम अनियमितता भएको हो । सामुदायिक वन उपभोक्ता समूहमा लाखौको रकम अनियमितता भएको उपभोक्ता समूहका अध्यक्ष नेपालीले स्वीकार गरेका छन् ।

रकम अनियमितता भएपनि त्यसमा आफ्नो हात नरहेको र आफूलाई फसाइएको बताउँदै अध्यक्ष नेपालीले भने, गाउँका टाँठाबाठा भन्नेहरुले मलाई फसाए म अशिक्षित भएको फाइदा लगे । सामुदायिक वनमा पैसा छ अहिले खर्च गरौ पछि खातामा जम्मा गरौला भनेर चेकमा दस्तखत गर्न लगाए तर पैसा लिईसकेपछि अहिले बैठकमा समेत आउँदैनन अध्यक्ष नेपालीले भने । उपभोक्ता समूहको भेला गराउने भन्दा पनि उनीहरु उपस्थिति नहुने गरेको उनको भनाई छ । अध्यक्ष नेपालीले भने अहिले राजनीतिक रुपमा पूर्वाग्रह राखेर मलाई फसाइँदैछ ।

तर अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा काटिएको चेकमा ४ लाख ९२ हजार र अध्यक्षको एकल नाममा काटिएको चेकमा २ लाख ७० हजार अहिलेसम्म समूहमा फिर्ता भएको छैन । यसरी वन समूहको पैसा लिने र लामो समयसम्म फिर्ता नगर्नेहरुले लेखा परीक्षण प्रतिवेदन भने स्पष्ट बनाएका छन् । भए नभएका खर्चहरु समेटेर लेखा परीक्षण प्रतिवेदन बनाइएको उपभोक्ताहरुको आरोप छ । सुर्खेतको वन समूहको लेखा परीक्षण प्रतिवेदन उनीहरुले कैलालीको एम तिमिल्सेना एण्ड एशोसियसन प्रतापपुर कैलालीबाट गराइएको छ ।
लेखा परीक्षण गर्न सचिव पूर्णिमा सिंहका श्रीमान् अशोक सिंह कैलाली पुगेको अध्यक्ष नेपालीले बताए । अहिले डिभिजन वनमा बुझाउनका लागि अडिट गरिएको छ पछि भेलाबाट अनुमोदन गराउँला भनेर आफूलाई अडिट रिपोर्टमा आफूलाई दस्तखत गराएको अध्यक्ष नेपालीले बताए ।

वन समूहको रकम अनियमितता गर्नेहरुमा रण बडुवाल ५ लाख ५० हजार, प्रेम सिंजापति ५ लाख ४५ हजार, भरत शाही १ लाख ५० हजार, हस्तना शाही १ लाख १५ हजार अशोक सिंह २५ हजार अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा संयुक्त ४ लाख ९२ हजार र अध्यक्ष हरि नेपाली (दमाई) २ लाख ७० हजार गरि २१ लाख ४७ हजार अनियमितता भएको छ । यता बैंक स्टेटमेण्ड अनुसार ४२ हजार ९ सय २५ रुपैयाँ पैसा १० समेत नदेखिएको बताइएको छ ।

आर्थिक अनियमितता भएको भन्दै उपभोक्ताहरुले छानविनको माग गरेपछि लेखा समितिका देवीराम खनालको संयोजकत्वमा छानविन गर्न एक समिति समेत गठन गरिएको अध्यक्ष नेपालीले बताए । छानविन समितिमा अन्य सदस्यहरुमा चम्फा माझी, रुप बहादुर सिंह, खेमराज माझी, जयन्ती उपाध्याय र रोहवरमा वडाअध्यक्ष दिपक राज जैसी र अध्यक्ष हरि नेपाली (दमाई) समेत रहेका थिए ।
यता अशोक सिंह पनि आफूले चलाएको रकम चौकीदारलाई खर्च वापत निकालेको बताउँछन् । सिंह भन्छन्, आर्थिक अनियमितता भएकै छ । सापटी भनेर लगेको पैसा फिर्ता गरेका छैनन् । बढि पैसा कसरी निकालियो भन्ने बारेमा सिंहले भने दोहोरो चेक काटेर कटान छटानका नाममा पैसा निकालेर व्यक्तिगत रुपमा खर्च गरेका हुन् । लेखा परीक्षण प्रतिवेदनमा भने वन हेरालुको लागि छुट्टै १ लाख २८ हजार रकम निकालिएको छ ।

उक्त समितिले रकम अनियमितता भएको प्रतिवेदन २०७५ जेठ १४ गते नै बुझाएको बताएको छ । तर त्यस प्रतिवेदन बमोजिम कुनै सुनुवाई नभएको एक उपभोक्ताले आफ्नो नाम नबताउने शर्तमा बताए । छानविन समितिले बैंक स्टेटमेण्ट बाहेक अरु रसिद, बैठक पुस्तिका, विल भरपाई केही नभेटिएको जनाएको छ भने यता अध्यक्षले आफ्नो घरमा चोरी भएको र उक्त कागजातसहित ४८ हजार नगद समेत चोरी भएको बताएर पन्छिन खोजे ।

उक्त सामुदायिक वनको काट कटान गर्नका लागि तत्कालिन जिल्ला वन कार्यालय सुर्खेतले २०७१ साल चैत्र २६ मा २ हजार ६ सय २३ क्यूफिट काट काट्न अनुमति दिएको थियो ।

यस सम्बन्धमा डिभिजन वन कार्यालयले पछिल्लो समयमा उक्त वन नविकरण समेत नभएको र दुई वटा डिभिजन कार्यालय भएकोले सबै रिपोर्टहरु आइ नसकेको बताएको छ । quick khabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *