‘मलाई सधैं यसरी नै माया गरिरहन्छौ दीपक?’ फेवाताल छेउ तालबाराही मन्दिर सामुन्ने दीपकको अँगालोमा बेरिएकी श्रुती बिस्तारै बोली।
‘तिमी मेरी सास हौ श्रुती, तिमी बिनाको म र पीपल बिनाको चौतारीमा के फरक?’ कसिलो हातको गाँठो फुकाउँदै दुवै हातले श्रुतीको अधर आफूसामू उठाउँदै जवाफ दियो दिपकले। हुन पनि श्रुतीबिना दिपक एक्लो वर थियो, नितान्त एक्लो। असुहाउँदो।
पोखराकै रैथाने गुरुङकी छोरी श्रुती । साह्रै हँसिली अनि उत्तिकै मिजासिली। दीपकको परिवार स्याङ्जाबाट बसाई सरेर पोखरा आएको। दुवैको घर पोखरा भए पनि पहिलो भेट जुरेको थियो फेसबुकमा।
‘घर हाम्रो पोखरा’ भन्ने फेसबुक पेजमा जोडिएको दीपकले त्यहि पेजमा श्रुती गुरुङलाई भेट्यो। तुरुन्तै प्रोफाइल खोल्यो। लठ्ठ पर्यो। निमेषभरमै रिक्वेष्ट पठाउन खोज्यो तर मिलेन। म्यासेन्जरमा एड गरेर म्यासेज पठायो– हाई, म दीपक, पोखरा नै हो घर, मलाई साथी बनाउ न है’ यस्तै यस्तै।
म्यासेज रिक्वेष्ट आएको पत्तो पाई श्रुतीले। हेरी। वास्ता गरिन। दिपकले तारन्तार म्यासेज र इमोहरु पठाउन थाल्यो। आखिरमा श्रुतीले म्यासेन्जरमा उसलाई जोडी।
सधैं सात बजेसम्म सुत्ने दीपक आज पाँचै बजे उठ्यो। आधाघण्टा लगाएर नुहायो। फेरि फेसवासले दुईपटक घोटीघोटी मुख धोयो। शरीरभरी बाहिरैबाट बडि स्प्रे अनि अनुहारभर क्रिम दलेर निस्कियो घरबाट। एक महिनाको च्याटिङ पश्चात ऊ आज श्रुतीलाई भेट्न जाँदैछ।
कालो वर्णको छ दीपक तर हिस्सी परेको। खासै धेरै नबोल्ने, मिजासिलो स्वभावको दीपकको पढाइ भने कमजोर छ। उता श्रुतीको तयारी पनि कम थिएन।
अघिल्लै दिन कपाल रंगाइसकेकी थिई, जन्मजातै पातलो आँखीभौं पनि उखेलेर धागोजस्तो बनाएकी थिई। बिहानै उठेर नुहाई अनि एक घण्टा लाएर सजिई।
बिहान ८ बजे फेवातालको किनारमा भेट्ने योजना भए पनि दीपक पौने ८ मै पुगिसक्यो। अनि सुरु भयो उसको प्रतीक्षाको घडी। यो १५ मिनेट उसलाई १५ घण्टाजस्तो लाग्यो। सायद समयको आयतन तन्काउने र खुम्चाउने क्षमता परिस्थितिसँग मात्र हुन्छ।
ओहो ! आज त पहिलो भेट, फोटोमा त क्या राम्री थिई, साँच्चिकै कस्ती पो छे? मलाई मन पराउँछे कि पराउन्न होली? टाढैबाट हेरेर नभेटेरै भागी भने ला !
यस्तै–यस्तै सोच्दै थियो दीपक टुप्लुक्क आइपुगी श्रुती।
‘अँ दीपक, एम आई राइट?’ सेतो कुर्तासलवारमा सजिएर आएकी श्रुती उत्साहित भई।
‘ह..जुर,’ अक्मकायो दीपक। आहा ! कति राम्री छे श्रुती, जति हेरे पनि नपुगने ! झन् सेतो पहिरनमा त सेताम्य माछापुच्छ्रे जस्तै खुलेकी मनोहर देखिएकी छ। मिठो मुस्कानसँगै लगभग बन्द हुन खोज्ने आँखा अनि बायाँ गालामा चन्द्ररुपी डिम्पल, साँच्ची चन्द्रमुखी छे श्रुती।
‘ए ! के हेरेको? केटी मान्छे कहिल्यै देखेको छैनौ र?’ मन्द मुस्कुराई श्रुती।
आत्तियो दीपक।
‘हैन देखेको छु तर तिमीजस्तो..।’
‘भो भो, फेसबुकमा मात्र भनेको साँच्चै पनि गफाडी रै’छौ तिमी त, आऊ यता बस,’ श्रुतीले भनी।
खै किन हो दीपकभन्दा श्रुती नै खुलेको थिई।
चप्पल ओछ्याएर बसी, दीपक सतर्क हुँदै बस्यो। दुईजनाबीच फेसबुकमा गरेका कुरा, लाईक, कमेन्ट यस्तै यस्तै कुराकानी भए। मोबाइल नम्बर साटासाट गरेर छुट्टिए।
प्रेमले ओतप्रोत भएको मन लिएर घर आयो दीपक। श्रुतीको प्रोफाइल खोल्यो, फोटो डाउनलोड गर्यो अनि आफ्नो फोटोसँग जोडेर जोडी मिलाउन थाल्यो। दङ्ग परेर दाँतमात्र देखिनेगरी एक्लै फिस्स हाँस्यो। सायद यति राम्री केटी उसले अहिलेसम्म देखेको थिएन वा देखे पनि राम्री लागेको थिएन। श्रुती भने उसको हृदयमा बसिसकेकी थिई।
दिनप्रतिदिन श्रुती–दीपक प्रेमपाशमा परिसकेका थिए। घर नजिकको जंगलमा ‘ढुकुर….कुर’ भन्दै ढुकुरले सुसेल्ने मधुर स्वरमा आफ्नै श्रुतीको प्रेमास्पद आवाज पाउँथ्यो दीपक। बिजुलीको तारमाथि बसेर कानेखुसी गरिरहेका चखेवा जोडी हेरेर टोलाउँथ्यो अनि आफ्नी श्रुतीलाई सम्झेर स्वप्नद्रष्टामा रमाउँथ्यो।
श्रुतीको मानसपटलमा पनि दीपकको छायाँ र मायाले स्थान जमाइसकेको थियो। फेवातालमा टल्किने माछापुच्छ्रे हिमालको छायाँमा दीपकको तस्वीर देख्न थालेकी थिई। आकाशमा बग्रेल्ती प्याराग्लाइडिङ्ग हेर्थी अनि दीपकको प्रेमालिङ्गनमा बाँधिएर आफ्नै पखेटा फिँजाएर पहाड माथि माथि सयर गरेको अनुभूति गर्थी। बुबाले आफ्नो विहेका लागि ल्याइरहने प्रस्तावित लाहुरेहरुभन्दा काले दीपक उसलाई चम्किलो लाग्न थालेको थियो। प्रेम र सुन्दरताबीचको सम्बन्धको नतिजा यस्तै हुन्छ सायद।
‘किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ…..’ गुलाम अलीको सुमधुर आवाजसँगै आँखा चिम्लिएर ओछ्यानमा पल्टिरहेको दीपकको मोबाइल भाइब्रेट भयो। रातको साढे ११ बजे श्रुतीले फोन गरेकी थिई।
‘अँ सानु निन्द्रा लागेन?’ उताबाट कुनै आवाज आएन।
‘हेलो, यति धेरै माया पचाउन सक्दिनँ के,’ दीपकको बोली नसकिँदै श्रुती एक्कासी रुन थाली। उसको रुवाइ सुन्दा लाग्थ्यो मनभित्र ठूलो ज्वालामुखी विष्फोट भएर ज्वारभाटा निस्किरहेका छन्।
‘श्रुती के भयो भन न, तिमी यसरी रोएको कसरी सुन्न सक्छु यार? प्लिज..,’ दीपकको ओठ एकाएक काँप्न थाल्यो। अनायासै आँशु बग्न थाल्यो। सायद उनीहरुको तन दुइटा तर मन एउटै भैसकेको थियो। श्रुतीको मन दीपकको नयनबाट पनि बगिरहेको थियो।
‘मलाई भोलि बिहान सात बजे महेन्द्र पुलमा भेट, इट इज अर्जेन्ट,’ यति भनेर फोन काटी श्रुतीले। दीपकले फेरि डायल गर्यो। स्विच अफ…। रातभर सयौं कोल्टे फेर्यो। निदाउन सकेन। अहिले नै कुदेर श्रुतीको घरमा जान नचाहेको होइन मनले तर दिमागले आँट दिएन।
अनिँदोले होला कालो वर्णको दीपकको रंग अझै उडेको थियो। श्रुती पनि उस्तै फुंग। तड्पन यतिसम्म बढेको थियो कि दुवैजना ६ बजे नै महेन्द्रपुल पुगे। दीपकलाई देख्नासाथ उसको अँगालोमा हाम फाली श्रुती।
‘दीपक मलाई भगाएर लैजाऊ, बुवाले एउटा लाउरेसँग विहेको कुरा छिनिसक्नुभएछ। आजै साइपाटा ल्याउने कुरो छ। तिमीबाहेक अरुसँग त कुरा भ’को नि सुन्न सक्दिनँ।’
श्रुतीलाई पाउनु उसको सपना थियो। तै धर्मसंकटमा पर्यो। क्षेत्रीको घरमा गुरुङ्गसिनीलाई भित्र्याउँछन् कि भित्र्याउन्नन्।
‘आमा ढोका खोल्नुस् त,’ कालो अनुहार झन कालो बनाउँदै बोल्यो दीपक। सातो उड्यो। ढोका खोल्न बुवा आउनुभएको छ।
‘अँ काँ गएर आइस ब्यानै?’
‘महेन्द्रपुल गाथेँ, यिनलाई भगार ल्याकोम,’ ओठ मात्र चलाएर बोल्यो दीपक।
सुन्नासाथ गहुँगोह्रो वर्णका दीपकका बा दीपकभन्दा काला भए, ‘के बतुराउँछ यो? भित्र मुन्टी।’
‘एउटा छोरो, त्यै पनि सबका अगाडि शिर निहुराउने बनाइस् है। शत्रु हँसाउने भैस्?’ आँखा रसिलो पार्दै आमा कराउन थालिन्। दीपक र श्रुतीले ठाडो शिर गर्न सकेका थिएनन्।
तै गाली नै गर्दै भए पनि एउटा छोराको इच्छा मारेनन्। आमाबुवाले नै बिन्ध्यवासिनी मन्दिर लगेर विहे गरिदिए। कोही आफन्तलाई खबर गरेनन्।
दीपक–श्रुती खुसी छन्।
माइतीमा केही हदसम्म फाइँफुइँ मै हुर्किएकी हो श्रुती। दीपकको घरमा त्यस्तो थिएन। श्रुतीका आवश्यकता पूरा गर्न बेरोजगार दीपक असमर्थ भैरहेको थियो। पोखरामा एक महिनासम्म जागिर खोजी नगरेको होइन। तर अनुभव, पढाइ र चिनेका ठूला मान्छे नभएको मान्छेलाई कसले पत्याउनु यो सहरमा।
श्रीमतीलाई आवश्यक सामान्य श्रृंगार सामान किन्न पनि बाबुकै भर पर्नुपर्ने बाध्यता। लज्जाबोधले दीपकलाई खाइरहेको थियो।
भित्तामा अडेस लागेर खाटमाथि बसेको छ दीपक। श्रुती ढुकढुकीको चाल सुन्दै उसको छातीमा अडिएकी छे।
‘म मुग्लान जान्छु श्रुती,’ दलिनतिर हेर्दै भन्यो।
टाउको उठाएर दीपकतिर हेर्दै भनी, ‘किन जानुपर्यो? पर्या छैन।’ उसको स्वर रुञ्चे भयो।
‘हेर मायाले मात्र खान लाउन पुग्दैन। जिन्दगी लामो छ। उमेर छउञ्जेल त हो कमाउने। पछि खाने मुख बढ्छन्, जिम्मेवारी बढ्छ, झन् समस्या हुन्छ।’
‘विदेशको विकल्प छैन र?’
‘यहाँ बसेर क्यार्नु, विदेशाँ लेबरी गरेर नि बीस–चालिस हजार कमाइहाल्छु। बा–आमा नि डाडाँमाथिको घाम भइसक्नुभो,’ दीपकको मुटुमा गाँठो परेजस्तो हुन्छ, बोली अडिन्छ।
‘तिम्रो आलिङ्गनको अभावमा कैलेसम्म छट्पटिने म?’
‘फोन गरिरहन्छु, छुट्टि मिल्नासाथ आइहाल्छु नि लाटी। दुई-चार वर्षमा अलिअलि जम्मा गर्न सकियो भने यतै केई बेपार-सेपार गरेर बसौंला नि,’ यति भनिसकेर लामो सास फेर्छ दीपक। मौन स्वीकृति दिन्छे श्रुती।
रातको १२ बजिसक्यो।
दीपक–श्रुती विपरित दिशामा फर्केर सुतेका मात्र छन्। निदाएका छैनन्। दुवैका आँखा विछोडको भयले रसाइरहेका छन्। लाग्दैछ शरीरबाट मुटु नै अलग्गिएर जाँदैछ कतै। टाढा…।
सुँक्कसुँक्क आवाज आउँछ। एक्कासी दुवैजना प्रेमालिङ्गनमा जोरसित बाँधिन्छन्। लाग्छ दुई देह एक हुने प्रयास गरिरहेका छन्, मन जस्तै। मिर्मिरेमै अलग्गिन्छ श्रुतीको मुटु।
अनि दीपकले घरमै छोड्छ मन, सुन्दर सपनाको भारी बोकेर उड्छ कतार।
आजभोलि दिक्दार छे श्रुती। आफ्नो शरीरको महत्वपूर्ण हिस्सा नै अलग्गिएको महसुस भइरहेको छ। हिजोअस्तिको रंगिन जिन्दगी सादा लागिरहेको छ। दीपकको तस्वीर टल्किने फेवातालमा आज फगत माछापुच्छ्रे मात्र टोलाइरहेको छ, कस्तो निर्जीव। फेवातालको आँगनभरी बाँधिएर हिँडेका प्रेमजोडी देख्दा पनि रिस उठ्न थालेको छ उसलाई। आकाशका प्याराग्लाइडिङ्ग पनि बिना जोडी छट्पटाइरहेको एक्लो चखेवा जस्तो लाग्न थालेको छ। सायद उसको मन वियोगले उजाड भएको छ, सुख्खा।
कतारमा अरु धेरै नेपालीसँगै रंगशाला बनाउने ठाउँको कामदार भएको छ दीपक। दैनिक १६ घण्टासम्म मजदुरी गर्न बाध्य छ ऊ। दिनभर काँधमा इँटा बोक्दा आफ्नो परिवारको जिम्मेवारी बोकेको सम्झिन्छ। १०–१२ जना कामदार कोचिएर बस्नुपर्ने साँघुरो कोठाबाट आफ्नो परिवारको फराकिलो भविष्य बनाउने सपना बुनिरहेको छ।
चौबिसै घण्टा शरीरबाट अविरल बग्ने पसिनासँगै आफ्ना दुःखका दिन पनि बगिरहेको अनुभूति गरिरहेको छ। कामले लखतरान भएर आँखा चिम्म गर्दा आफ्नी श्रुतीको मधुर मुस्कान देख्छ। अनि रिचार्ज भएजसरी पुनः काममा जोतिन्छ। आफ्नो सुन्दर संसार सजाउने अभिलाषाका साथ आठ लाख रुपैयाँ पठाइसक्यो दीपकले। आफ्नो शरीर नै बिर्सिएर कमाएको पैसाले आफ्नी श्रुतीलाई सुख दिने सपना देखेको छ। बाआमाको बुढेसकालको अब्बल सहारा बन्ने सोच बनाएको छ।
विदेशमा सजिलै पैसा कसरी आउँथ्यो र? सयौं लिटर रगतको पसिना बगाएको छ दीपकले। ज्यान सुकेर लौरीजस्तो भैसकेको छ। ऐनामा आफैंलाई नचिन्ने जस्तो। त्यसमाथि एक महिना भैसक्यो श्रुतीसँग कुरा हुन नसकेको। अलि अलि त रिसाएको छ ऊ।
एकहप्ता भैसक्यो दीपक काममा जान सकेको छैन। भाइरल ज्वरोले सिकिस्त छ। उपचारले केही निको भए पनि काम गर्न असमर्थ हुने छाँट देखिएपछि कम्पनीले नेपाल फर्काइदिन्छ।
एकमनले त खुसी हुन्छ दीपक। श्रुतीसँग करिब दुई वर्षपछि भेट हुँदैछ। अघिल्लो महिनासम्मको कमाई सबै घर पठाएकाले भाडा समेत सापटी गरेर फर्किन्छ। रित्तो झोला बोकेर।
यसो हेर्दा दीपकमा धेरै परिवर्तन देखिएको छ तर पोखरा उस्तै। श्रुती कस्ती भएकी होली, भेट्न व्याकुल छ ऊ।
एक हातले लठ्ठी टेकेको छ अर्को हातमा एउटा सानो हाते झोला।
‘श्रुती !’ घर नपुग्दै बाटैबाट सकिनसकी चिच्याउँछ दीपक।
आगँनमा जान्छ, पेटीमा बसेका आमाबुवालाई ढोग्छ। केही नबोली हतारिँदै कोठामा जान्छ, ताल्चा लगाएको छ।
‘आमा श्रुती खोई त?’
कुनै जवाफ आउँदैन। बिस्तारै बाहिर जान्छ।
‘हामीलाई डुबाएर गई वावु, तेरो सपना उडाएर गई,’ गहभरी आँशु पार्दै आमाले भनिन्।
बा झोक्रिएका छन्।
‘काँ गै?,’ आँखा च्यातेर बोल्छ दीपक।
‘रामबजारतिरको लाहुरे हो रे,’ धोतीको फुर्कोले आँखा पुछ्दै भनिन् आमाले।
‘अनि पैसा,’ ऊ हतासियो।
‘खै वावु, तैंले पठाको फुटेको टाँक नि देखाईन हाम्लाई त। केही भनुँ भने बोलिसक्नु थिएन…।’
सन्नाटा छायो, चारैतिर चकमन्न अँध्यारो मात्र देख्यो दीपकले। सुकेको ज्यानमा बचेको तागतले धान्न नसक्ने भयो।
डंरङ्ग लड्यो।
श्रुती अब उसको स्मृतिमा पनि नअटाउने भएकी थिई।