‘काठमाडौंमा तत्काल उद्धार गर्न नसक्ने सरकारबाट अन्यत्रका जनताले के अपेक्षा गर्ने ?’

 

काठमाडौं, साउन , प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद् पूर्वतयारीमा सरकार चुकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

बुधबारको बैठकको विशेष समयमा उनीहरुले ‘काठमाडौंको धोबीखोला थुनिँदासमेत समयमै उद्धार गर्न नसक्ने सरकारले दूरदराजमा के गर्ला ?’ भनी प्रश्न गरे ।

सांसदले मोरङको जातेस्थित जाते माध्यमिक विद्यालयको पानीट्यांकीमा विष राखेको घटनाका सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराए ।

सो ट्यांकीको पानी पिउँदा २० बढी विद्यार्थी घाइते भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मंगलबार राति परेको अविरल वर्षाले काठमाडौंको अनामनगर, शान्तिनगरलगायतका क्षेत्रमा करोडौं रुपैयाँको क्षति भएको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

‘काठमाडौंमा त तत्काल उद्धार गर्न नसक्ने सरकारबाट अन्यत्रका जनताले के अपेक्षा गर्ने ?’ सिंहको प्रश्न थियो ।

सत्तारुद्ध नेकपाका सांसद घनश्याम खतिवडाले ‘मोरङमा पानीट्यांकीमा विष हाल्नेलाई सरकारले जतिसक्दो चाँडो कडा कारबाही गरोस्’–भने ।

बैठकमा सांसदहरुले विभिन्न स्थानमा बाढी–पहिरोका कारण धनजनको क्षति भएको भन्दै सरकारले राहत उपललब्ध गराउनुपर्ने माग गरे ।

उनीहरुले देशमा सुरक्षा अवस्था पनि खस्किएको भन्दै सरकारलाई त्यसतर्फ सचेत हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *