साहित्य र कला यो दुनियाँ पागल हो, म होइन

– किशोर कुमार


 

सन् १९८५ अप्रिलमा भारतीय कवि, पत्रकार, राजनीतिज्ञ, टिभी प्रस्तोता, फिल्म निर्माता प्रीतिश नन्दीले यो शताब्दीकै महान् भारतीय गायक किशोर कुमारसँग लामो कुराकानी गरेका थिए । यो अन्तर्वार्तामा किशोर कुमारले आफ्नो जीवनका अनेकन रोचक पक्षबारे बताएका छन् । बम्बई छाडेर मध्यप्रदेशको खन्डवा बसाइ सर्ने उनको निर्णयदेखि थुप्रै महिलासँगको सम्बन्धबारे खुलेर बोलेका छन् । यो अन्तर्वार्ता प्रकाशित भएको दुई वर्षपछि (१९८७ अक्टुबर १३) ५८ वर्षको उमेरमा उनको निधन भएको थियो ।

प्रीतिश नन्दीः म बुझ्छु, तपाईं बम्बई छोडेर किन खन्डवा जाँदै हुनुहुन्छ !

किशोर कुमारः यस्तो अर्थहीन र एक्लो शहरमा को बस्न चाहन्छ ? जहाँ हरेक क्षण कोही न कोही तपाईंको शोषण गर्ने प्रयासमा हुन्छ ! यहाँ तपाईंले कसलाई विश्वास गर्न सक्नुहुन्छ ? कोही छ भरोसा गर्न लायक ? तपाईंको कोही विश्वास गर्न योग्य साथी छ ? त्यसैले म यस बिनाअर्थको मुसाको दौडबाट बाहिर निस्किन चाहन्छु र आफूले सधैं चाहेजस्तो जीवन जिउन चाहन्छु— मेरो जन्मस्थल खन्डवामा, जुन मेरो पुर्खाहरूको भूमि हो । यस्तो कुरूप शहरमा को आफ्नो अन्त्य चाहन्छ ?

प्रीतिश नन्दीः उसो भए पहिलो कुरा— तपाईं यहाँ किन आउनुभयो त ?

किशोर कुमारः म दाजु अशोक कुमारलाई भेट्न यहाँ आउने गर्थें । त्यतिबेला उहाँ निकै ठूलो स्टार हुनुन्थ्यो । त्यसैले सोचें— उहाँले मलाई मेरा सबैभन्दा ठूला आइडल केएल सैगलसँग परिचय गराइदिन सक्नुहुन्छ । सबैले भन्छन्— उनले नाकबाट गीत गाउँछन् । तर, जे भए पनि उनी धेरै ठूला गायक हुन् । अरूभन्दा धेरै महान् ।

प्रीतिश नन्दीः मलाई जहाँसम्म लाग्छ— तपाईं सैगलका चर्चित गीतहरूको एल्बम रेकर्ड गर्ने सोचमा हुनुहुन्छ, हैन ?

किशोर कुमारः मलाई यसबारे सोधिएको थियो तर मैले अस्वीकार गरें । मैले किन उनको स्थान लिने प्रयास गर्नू ? उनलाई हाम्रो यादमै सजिएर रहन दिऊँ र उनका गीत केबल उनैको रहिरहून् । एउटा व्यक्तिले पनि यो नभनोस् कि किशोर कुमारले ती गीत उनीभन्दा राम्रो गायो ।

प्रीतिश नन्दीः यदि तपाईंलाई बम्बई मन पर्दैन भने तपाईं किन पछि यहीँ रहनुभयो ? नाम कमाउन कि पैसा कमाउन ?

किशोर कुमारः म धोकामा परें । म केबल गाउनमात्र चाहन्थें, अभिनय गर्न होइन । तर, विशेष परिस्थितिवश म फिल्म खेल्नसमेत राजी भएँ । म फिल्म खेल्न घृणा गर्थें । यसबाट बाहिर निस्किन सबैजसो प्रयास गरें । यहाँसम्म कि मैले अभिनय गर्दा लाइनहरू बिगारें, बहुलाएको नाटक गरें, कपालसमेत खौरिएँ, घमन्डी पल्टिएँ । म गम्भीर सिनहरूको बीचमा गीत गाइदिन्थें, बिना राईलाई अर्कै फिल्ममा भन्नुपर्ने कुरा मीना कुमारीलाई भनिदिन्थें । तर, यति सबै गर्दा पनि मलाई कसैले उम्किन दिएनन् । म चिच्याउँथे, पागलसरह व्यवहार गर्थें तर कसैले मतलब गरेन । सबै मलाई स्टार बनाउन समर्पित भएर लागिरहेका थिए ।

प्रीतिश नन्दीः किन ?

किशोर कुमारः किनभने म दादामुनीको भाइ हुँ । र, उनी महान हिरो थिए ।

प्रीतिश नन्दीः तर, तपाईं आफ्नो फेसनकै कारण सफल हुनुभयो…

किशोर कुमारः अवश्य मैले सफलता हात पारें । दिलीप कुमारपछि म सबैभन्दा ठूलो हस्ती भएँ । त्यसबेला म यति धेरै फिल्म गरिरहेको थिएँ कि मैले बाटोमै लुगा फेर्दै एउटा सेटबाट अर्कोमा दौडिनु पथ्र्यो । यसो गर्दा कहिले मेरो सर्ट उडिरहेको हुन्थ्यो, कहिले ट्राउजर झरिरहेको हुन्थ्यो । कहिले त विग (नक्कली कपाल) नै निस्किन्थ्यो । यस्तोमा धेरैपटक मेरा लाइनहरू जुध्न पुग्थे । म रोम्यान्टिक सिनमा रिसाइरहको हुन्थें, खतरनाक लडाइँमा रोमान्टिक देखिन्थें । त्यो सब भयानक थियो र मलाई यस्तो भइरहेको पटक्कै मन परेको थिएन । त्यसले मलाई स्कुलका डरलाग्दा दिनको याद दिलाउँथ्यो, जहाँ निर्देशकहरू स्कुलका शिक्षकहरूझैं लाग्थे । सधैं यो गर, त्यो गर, यस्तो नगर, उस्तो नगर भन्थे । म एकदमै डराउँथे । त्यसैकारण म धेरैचोटि भागेर जान्थें ।

प्रीतिश नन्दीः तपाईं आफ्ना निर्देशक र निर्मातालाई दुःख दिने पीडक भएर चिनिनुहुन्छ । यस्तो किन ?

किशोर कुमारः एकदम गलत । मैले होइन, उनीहरूले बरु मलाई सताउँथे । तपाईंलाई के लाग्छ— उनीहरूलाई मेरो साँच्चिकै मतलब थियो ? म बिक्ने भएकाले मात्र उनीहरूले मलाई महत्व दिन्थे । मेरा नराम्रा दिनहरूमा कसले मलाई याद गर्‍यो ? यो पेशामा अरूको कसलाई मतलब ?

प्रीतिश नन्दीः त्यही भएर तपाईं एक्लै हुन मन पराउनुहुन्छ ?

किशोर कुमारः हेर्नुस्, म चुरोट–रक्सी खाँदिनँ । न म कसैसँग धेरै बोल्छु । म कहिल्यै पनि पार्टीहरूमा जादिनँ । यदि यसले मलाई एकलकाँटे बनाउँछ भने हो, म यसैमा खुशी छु । म काम गर्न जान्छु र सीधा घर फर्कन्छु हरर फिल्म हेर्न, भूतहरूसँग खेल्न, मेरा रुखहरूसँग गफ गर्न । यो लोभी संसारमा सबै रचनात्मक मानिसहरू एक्लो हुन बाध्य छन् । तपाईंले यसलाई कसरी अस्वीकार गर्न सक्नुहुन्छ ?

प्रीतिश नन्दीः तपाईंका धेरै साथी छैनन् ?

किशोर कुमारः कोही पनि छैन ।

प्रीतिश नन्दीः यो अनौठो कुरा हो ।

किशोर कुमारः मान्छेहरूले मलाई दिक्क लगाउँछन् । विशेषगरी फिल्म क्षेत्रका मानिससँग म वाक्क हुन्छु । बरु मलाई मेरा रुखहरूसँग गफ गर्न मज्जा आउँछ ।

प्रीतिश नन्दीः उसो भए तपाईंलाई प्रकृति ज्यादै मनपर्छ ?

किशोर कुमारः हो । त्यसैले त म खन्डवा जाँदैछु । यहाँ बसेर म प्रकृतिबाट धेरै टाढा भइसकें । मेरो यहाँको बंगलामा गन्डोलाजस्तै डुंगा चलाउन मिल्ने गरी एउटा सानो नहर खन्ने कोसिस पनि गरें । तर, मेरा मान्छेहरूले त्यहाँ खन्दै गर्दा महानगरपालिकाका अधिकारी आएर हेर्थे अनि नकार्दै टाउको हल्लाउँथे । हामीले काम गरिरह्यौं । यस्तैमा एकदिन त्यहाँ कंकाल भेटियो । हात र खुट्टाका हड्डी देखेपछि कसैलाई पनि त्यहाँ खन्न मन भएन । अनि अर्को दिन मेरो माइलो भाइ अनुप गंगाजल लिएर आयो । उसले त्यहाँ धेरैबेर मन्त्र पढ्यो । उसको बुझाइमा त्यो घर चिहानमाथि बनाइएको थियो । र, वास्तवमै त्यो सत्य पनि हो । यससँगै मैले आफ्नो घरलाई भेनिस बनाउने मौका गुमाएँ ।

प्रीतिश नन्दीः मानिसहरूले तपाईंलाई पागल सोचे होलान् । वास्तवमा उनीहरू अहिले पनि त्यस्तै सोच्छन् ।

किशोर कुमारः कसले भन्यो म पागल हुँ ? बरु यो दुनियाँ पागल हो, म होइन ।

प्रीतिश नन्दीः तपाईं किन यस्ता अनौठा कामका लागि प्रख्यात हुनुहुन्छ ?

किशोर कुमारः यो सबै एक युवतीका कारणले भएको हो, जो मेरो अन्र्तवार्ता लिन आएकी थिइन् । त्यो समय म एक्लै बस्थें । उनले मलाई भनिन्, “तपाईं एकदमै एक्लो महसुस गर्नुहुन्छ होला ।” मैले ‘होइन’ भनें र उनलाई मेरा केही साथीहरूसँग परिचय गराउन बगैंचामा लगें । मैले उनलाई मेरा मिल्ने रुखहरूसँग चिनजान गराएँ— जनार्दन, रघुनन्दन, गंगाधर, जगन्नाथ, बुद्धुराम र झटपटझटपट । यो क्रूर संसारमा मेरा सबैभन्दा मिल्ने साथी तिनै हुन् भन्दै मैले सबैसँग चिनजान गराएँ । तर, उनले त म सधैं आफ्नो सबै समय रुखवरिपरि हात बेरेर बिताउने गर्छु भन्दै विचित्र कुराहरू लेखिदिइन् । यसमा गलत के छ ? तपाईं नै भन्नुस् न— रुखहरूसँगको मित्रताले के हानि पु¥याउँछ ?

प्रीतिश नन्दीः केही पनि हुँदैन ।

किशोर कुमारः यसपछि अर्का एक इन्टेरियर डेकोरेटर सुटबुटमा मलाई भेट्न आए । उनले गर्मीमा पनि तीन पिस ऊनको महँगो सुट लगाएका थिए । उनले मलाई सौन्दर्यशास्त्र, डिजाइन अनि दृश्यात्मक भावनालगायतका विषयमा भाषण दिन थाले । ठेट अमेरिकी शैलीमा उनका कुरा आधा घण्टासम्म सुन्दा पनि मैले केही बुझ्न सकिनँ । उनलाई सिधै भनें— म आफ्नो बैठक कोठाका लागि एकदम साधारण डिजाइन चाहन्छु । ठुल्ठूला सोफ%