समृद्धतामा ‘सभ्य’ समाज

जीवन शर्मा     

 

तपाईको बिहानी कसरि शुरुवात होस् भन्ने चाहानुहुन्छ ? अथवा तपाइको दैनिकी कसरी सुरु गर्ने गर्नु भएको छ ? बिहानी सुरुवातको कल्पना गरौ एकैछिन, कोही बिहान घाम नझुल्कदै योगा, बिहानी हिडाई, चिया कफी खाने, घरको कामधन्दा सक्ने, बालबच्चा छन् भने पढाउने, घरमा खाना पकाउन सघाउने, कार्यक्रमहरुमा जाने, सुचना र समाचार सुन्ने, हेर्ने पढ्ने त्यो पनि घर वरपर बगैचामा बसेर हाम्रो कल्पना अझ फिल्मीशैलीमा हुने गर्छ । अब तपाइको कल्पनाबाट बाहिर निस्केर एकपटक यथार्थमा बहस गरौं । के हामीले अहिले भोगिरहेको जस्तो नै छ त ? हाम्रो दैनिकी ? पक्कापनि छैन । हाम्रो दैनिकी अब यस्तो भैसकेको छ कि ‘तनाव’ लिएर जुरुक्क उठ्ने हो र तनावैमा सुत्ने ।

बिहान उठ्ने बित्तिकै तपाइको कानमा या आँखामा पहिलो दृश्य बालिका बलात्कृत, अपहरण, हत्या, आत्महत्या, सडक दुर्घटना, उपचार नपाएर मृत्यु, पहिरोले बाटोबन्द, भ्रस्टचार, विदेशबाट शव, लागु पदार्थ सहित यत्ति युवा समातिए, कर्मचारीद्वारा अनिमियतता, छाउघरमा मृत्यु, बाढीले डुबान, सहरको नाला नहुँदा सहर डुबान यस्ता अनेक अनेक समाचार र सुचना फनफनी घुम्न थाल्छ । यससंगै आउने अर्को दृश्य ‘सपना’ बाँड्ने खेतीका समाचार जसले सर्वसाधारणलाई अलमलाइरहेछ ।

हाम्रो समाज यति चाम्रो र थिलथिलो भएर गइरहेको छ कि चिमोटदा मात्रै हैन झिरले घोपिसक्दा पनि नब्युझने भैसकेको छ । राजनीतिक आडमा मौलाएको दण्डहीनता, बेरोजगार समस्या, पुरुष प्रधान समाज, इन्टरनेटको गलत प्रयोग, सामाजिक संजालमा देखिने बिकृति, अशिक्षा लगायत यावत बिषयहरु छन् जसले हामीले भन्ने गरेको मानव सभ्यता अथवा सभ्य समाजलाइ नै नष्ट गर्न अग्रसर रहेको भान हुदै गएकोछ ्र हामीले देखेको समृद्ध सपना त्यतिबेला तुहिन्छ जतिबेला हाम्रै समाजमा नावालक बलात्कृत हुन्छिन् ।

हामीले सहर कस्तो बनाउने भनेर बहस गरिरहँदा अथवा समृद्ध सहर भनिरहँदा चिल्ला सडक, ठुला ब्यवसायी, ठुला सपिङ मल, उद्योग कलकारखाना जस्ता भौतिक संरचनालाई मात्रै ख्याल गर्दा सभ्य समाज चाही कतै बिर्षेका त छैनौ ? हाम्रो समाज दिनप्रतिदिन कुरूप मानसिकताले भरिदाई जाँदा के हामी समृद्ध हुन्छौ होला ? यतिखेर चारैतिर सडक, उद्योगधन्दा, ब्यापार ब्यवसाय, रेललाई समृद्धसँग जोड्दा तपाई हाम्रा आमा, दिदिबहिनी छोरीहरु सुरक्षित हुनु पर्दैन ? तपाइँ सडकमा हिड्दा ढुक्क भएर गफिएर हिड्न पर्दैन ? साँझ र राती एक्लै हिड्न नपाउनु, घरमा एक्लै बसेकी आमा र सानी नाबालिक छोरी निस्कन नपाउने ? बाटोमा चारजना केटाकेटीहरु आनन्दले गफ्फिदै हिड्न नपाउनु ? विद्यायालयबाट विद्यार्थी ढुक्कले घर फर्कन नपाउनु ? हामीले हाम्रो समाज सुरक्षित र सभ्य नबनाएसम्म कसरी समृद्ध हुन्छ ? केहिदिन यता नागरिकताको बहस चलेको छ, जहाँ नीतिगत रुपमै महिलालाई (आमालाई) दोस्रो दर्जामा पुर्याएको छ, म पुरुष बन्ने घमण्डले कहिँ कतै छाडेको देखिन्न, स्थानीय निर्वाचन मै महिलालाई दोस्रो दर्जामा (उपमेयर र उपाध्यक्ष मात्रै) बनाएकै थिए । वर्षमा दुईहजार भन्दा बढी दैनिक चारजना महिला बलात्कृत हुने समाजमा भौतिक संरचना मात्रै कसरी समृद्ध सहर हुनसक्छ ?

स्थानीय सरकारले निरन्तर रुपमा सामाजिक समस्यामा विभिन्न अभियानहरु संचालन गर्नेपर्छ । सुरक्षाको सबालमा चुस्त र दण्डहीनताको अन्त्यको लागि काम गर्ने, युवाहरुलाई सचेतना, सामाजिक काममा सहभागी गराउने, नागरिक समाजलाई सक्रिय हुन सहयोग गर्ने, स्थानीय बिकासका क्रियाकलापमा सबैको समान सहभागिता गराउने जस्ता काम गर्न योजनाबद्ध ढंगले अगाडी बढ्न आवश्यक भइसकेको छ । भौतिक संगै सामाजिक अन्य क्रियाकलापलाई प्राथमिकतामा नपार्दा सामाजिक अपराधहरु बढेका छन् । अपराधलाई राजनीतिक रुपमा जोगाउने क्रियाकलापले अपराधिको मनोवल बढेको छ ।

 

विश्वका बस्न लायकका सहरहरु भनेर अहिले भर्खरै रिपोर्टहरु सार्वजनिक भएका छन् । ती सहरहरु भौतिक पूर्वाधारहरुले मात्रै बस्न लायक सहर भएका हैनन् । सामाजिक सुरक्षाका दृष्टिकोणले उपयुक्त भएर हो । तपाई सहर पसेपछि जति सुरक्षित महशुस गर्नुहुन्छ त्यति नै तपाइले समृद्ध भएको पाउनुहुन्छ । हाम्रा स्थानीय सरकार र अन्य राजनीतिका दलका प्रतिनिधि, ब्यवसायी, विभिन्न व्यक्त्तिहरु युरोप र अमेरिका भ्रमणमा जान्छौ, घुम्छौ फर्केपछि यहाँ आएर गाली गर्छौ । तर, त्यही बिषयमा हामी नीतिगत रुपमा आफ्नो क्षेत्रमा कसरी गर्न सकिन्छ ? भनेर बहस र काम भने गर्दैनौ अथवा गर्न सकेनौ अथवा सहयोग भएन अथवा सरकारले सुन्दैन ? हामीले समृद्ध सहर बनाउन खोज्छु भने हामीले देखेको सपना, कल्पना गरेको सहर बनाउन पहिलो काम हाम्रो मानसिकता परिवर्तन गरौ, सभ्य सहर बनाउन अहिलेको सामाजिक अपराध र समस्यालाई कम गर्न आजैबाट अभियान थालौ नत्र अपराध बढेको समाज कहिल्यै समृद्ध हुने सक्दैन ।

 

नेपालगन्ज न्युज बाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *