दोहोरो हिंसामा कर्णालीका दलित महिला

 

दलित महिलाहरुले महिला भएका कारण आफ्नै परिवारबाट लैंगिक हिंसा भोगिरहेका छन भने दलित भएका कारण गैर दलितबाट समेत हिंसा भोगीरहेका छन् ।
महिलाहरु पानी पधेँरो, मेला पात जस्ता समुदायमा घुलमेल हुने कार्यमा बढी सहभागी हुने भएकोहुँदा दलित महिलाहरुले त्यहाँ जातिय विभेदका कारण हिंसा भोग्नु परेको छ ।

दलित महिलाले भोगिरहेको समस्या केवल उनीहरूको निजी मामिला वा समस्या मात्रै होइन, यसको अन्तरसम्बन्ध गैरदलित समुदायमा पनि परिरहेको छ । दैनिक जीविकाका क्रियाकलापदेखि अन्तरजातीय विवाह आदिका रूपमा यो मुद्दा बाहिर आउने गरेको छ ।

 

गोविन्द खत्री

आसोज ९ गते कालिकोट खाँडाचक्र नगरपालिकाकी १९ बर्षीया एक दलित किशोरी सामूहिक बलात्कारमा परिन् । बलात्कारमा संलग्न भनी प्रहरीले पक्राउ गरेका ८ जना युवाहरु अहिले थुनामा छन् । यस्तै खाँडाचक्र नगरपालिका १ की १९ बर्षीया सरिता दमाई बोक्सी आरोपमा परिवारबाटै कुटिइन् । विवाह भएको दुई बर्षसम्म बच्चा नजन्माएको भन्दै देवर, श्रीमान, लगायत परिवारका सबै मिलेर कुटपिट गरेको भन्दै उनले गत असोजमा प्रहरीमा उजुरी दिइन् । सामान्य यातना सहँदै आएकी उनले घरमा पस्न र खान नदिएपछि मात्रै प्रहरीमा उजुरी गरिन् । यस्तै गत जेठ १९ गते नरहरीनाथ गाउँपालिका ९ की वडा सदस्य मना सार्कीको हत्या भयो । कालिकोट जिल्ला मात्र नभई कर्णालीका प्राय सबै जिल्लामा महिला हिंसासँग सम्बन्धित विभिन्न घटना दैनिकजसो समाचारका रूपमा आइरहेका हुन्छन् । बेचबिखनमा परेका, बलात्कृत भएका, बोक्सीको आरोपमा यातना दिइएका र अन्तरजातीय विवाहका कारण महिलामाथि हुने हिंसा शृंखलाबद्ध रूपमा बाहिर आइरहेका छन् ।
लामो समयपछि नयाँ संविधान आएको छ । राज्यको पुर्नसंरचना भएको छ । राज्य र राजनीतिक प्रक्रियामा महिला समावेशीकरण, महिलाको राजनीतिक नेतृत्व विकास, सम्पत्तिमाथिको अधिकार, आमाको नामबाट नागरिकता, प्रजनन अधिकार, कार्यस्थलमा हुने यौन दुव्र्यवहारजस्ता विषयलाई संविधान र कानुनले समेटेका छन् । यद्यपि, स्थानीय तहमा हुने महिला हिंसाका घटनामा भने नयाँ संविधान र पुर्नसंरचनापछि पनि खासै फरक परेको देखिदैन । माथि उल्लेखित कालिकोट जिल्लाका तीन घटना त बाहिर आएका प्रतिनिधिमूलक घटना मात्रै हुन् । कर्णालीका दलित महिलाहरुले विभिन्न किसिमका लैंगिक हिंसा खेपीरहेका छन्, ती मध्य केही न्यायिक प्रक्रियामा आएका छन भने धेरैजसो हिंसा पीडित महिलाहरुले आवाज दवाएर बस्न बाध्य छन् । झण्डै ५२ प्रतिशत गरिबी रहेको कर्णाली प्रदेशका नागरिक शिक्षा, स्वास्थ्य र चेतनाका हिसाबले पछाडी छन्, त्यसमा पनि दलित र दलितभित्र पनि महिलाहरु अझ पछाडि परेका छन् । जहाँ गरिबी अशिक्षा र अविकास हुन्छ त्यहाँ विभिन्न किसिमका हिंसाहरुले प्रसय पाएउने कुरा सर्बविधितै छ । त्यहाँ हिंसा बिरुद्ध पीडितहरुले आवाज उठाउन सकेका हुँदैनन् । जुन विडम्बना कर्णाली प्रदेशका महिलाहरुले भोगीरहेका छन् । कालिकोट जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डी.एस.पी) विनोद शर्मा कालिकोटका महिलाहरु बोक्सीको आरोपमा कुटपिट, यौनजन्य हिंसा, छाउपडी जस्ता हिंसाबाट पीडित रहेको र त्यसमा पनि दलित महिलाहरु धेरै पीडित भएको बताउँछन् । महिला हिंसाका त्यस्ता घटना प्रहरीमा कमै मात्र उजुरीका रुपमा आउने र त्यसमा पनि मिलापत्रका लागि दबाव आउने गरेको अनुभव डी.एस.पी. शर्माको छ । दलित महिला संघ कालिकोटकी अध्यक्ष हजा सुनार दलित महिलाहरुले घरेलु हिंसा, लैंगिक हिंसाका साथै दलित भएकै कारण पनि छवाछुत जस्ता विभेदजन्य हिंसा सहनुपरेको बताउँछिन् । ‘दलित महिलाहरुलाई घरेलु हिंसा, लैंगिक हिंसा त छँदैछ दलित महिलाहरुलाई जातिय विभेदका कारण पनि हिंसा छ’ अध्यक्ष सुनारले भनिन्,‘दलित महिलाहरु धेरै जसो पढ्न पाएका छैनन् । गैरदलित महिलाहरु सरह उनीहरुलाई खाने वस्ने, हिडडुल गर्ने सहज वातावरण छैन । अशिक्षित परिवार हुने भएकाले दलित महिलाहरुले परिवारबाट बढी हिंसा भोगिरहेका छन् ।’ कालिकोटका दलित महिलाहरुले पहिला बाल विवाह र पछि बहुबिवाहको हिंसा प्रताडित रहेको अध्यक्ष सुनारको भनाइ छ ।
जाजरकोटमा दलितहरुका मानव अधिकार र विशेषगरी दलित अधिकारका क्षेत्रमा लामो समयदेखि काम गरिरहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोट शाखाका अध्यक्ष मान बहादुर सुनार अन्तर जातिय विवाह (दलित र गैर दलितबीच) मा दलित महिलाहरुले चरम हिंसा भोग्नु परेको बताउँछन् । गैर दलित पुरुषले दलित महिलासंग विवाह गरेको खण्डमा त्यस्ता महिलाहरुले अझ बढी लैंगिक हिंसाका साथै परिवारले समेत मानसिक र शारीरिक हिंसा भोग्नु परेको अध्यक्ष सुनारको भनाइ छ ।
प्रदेशकै राजधानी भएता पनि सुर्खेतमा महिला हिंसाको अवस्था विकराल देखिन्छ । जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्ने उजुरीहरुमा धेरैजसो घरेलु हिंसा सम्बन्धी हुने र त्यसमा पनि दलित महिलाहरु बढी हिंसामा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत महिला सेलमा कार्यरत असई मञ्जु चौधरी बताउँछिन् । ‘उजुरीका रुपमा आउने हिंसाका घटना हेर्दा धेरैजसो घरेलु ह