देवता रिसाउने डरले छाउगोठमा बस्छन दलित महिला

जगतदल जनाला बिक

पञ्चपुरी,सुर्खेत १३ माघ।

पञ्चपुरी नगरपालिका वडा नम्बर ६ कि कल्पना बिक २८ वर्षकी भइन् उनका अहिले ४ छोरी र २ छोरा छन् ।१४ वर्षको उमेरमा आमा बुवाले बिहे गरिदिए ।१५ वर्ष देखि नै उनी महिनावारी हुन सुरु भइन् ।पहिलोपटक महिनावारी हुंदा उनी घरपरिवार र आफन्त बाट ५दिन सम्म ओडारमा लुकिन नन्दहरुले उनलाई खाना लिएर दिन्थे फर्किएर आइहाल्थे ,यो तेती बेलाको चलन थियो ।पहिलो पटक महिनावारी भएपछि घरपरिवार ,आमा बुवा ,र दाजुभाइ बाट लुक्नुपथ्यो।५ दिन पूरा भएपछि उनलाई सुनपानी छरेर घर आउन दिइयो । बिस्तारै उनी प्रत्येक महिनामा महिनावारी हुँदै गएपछि उनलाई घरदेखि टाढा रहेको छाउगोठमा बसाइयो ।
त्यसपछि उनी नियमित रुपमा छाउगोठमा बस्दै आइन । बिहे गरेर आएपछि पनि नियमित छाउगोठमैं बस्न बाध्य भएको उनको भनाइ छ। छाउ भएको बेला दहि,दूध,घ्यु लसपस भएको खाना समेत खान पाइन्न,हामीले नै ल्याएका घांसका भारी गाई,भैंसीले खान हुने तर तिनीहरुको दहि ,दुध खानत के छुन पनि नपाइने ।घरमा कोही बिरामी भए वा केही काम बिग्रे छाउमुसी भयो भनेर दोस हामीलाई आउँछ । छाउ भएका बेला मात्र होइन २ महिनाको बच्चा खेर गएपछि दुइदिन सम्म त घरमै बसिन तर तेस्रो दिनबाट उनका श्रीमानले देउता रिसाएर मलाई बिसन्चो भयो भनेपछि बाहिर खुला आकाशमैं पाल टाँगेर ४दिन सम्म बसें उनले भनिन् । पहिला त छाउगोठ थियो संस्थाका मान्छे आएर भत्काइदिए ,छिमेकीको कुखुराको खोरमै छाउगोठ छ तर हामीलाई त्यहाँ बस्न दिंदैनन् । तीन दिनसम्मको लामो झरीमा पनि यसरी बसेको छु कपडा भिजेर रातभर छाता ओढेर बसें ,पानीमा काहिर बस्न मन त कहां लाग्छ र घरमा गए देवता बिग्रने भन्ने डर नजाउँ भने यस्तो छ अवस्था,,कहिल्यै केटाकेटी खाना पकाएर दिन्छन कहिल्यै भोकै भोकै बस्छु उनले भनिन् ।

दलित समुदायमा छाउप्रथा ब्याप्त ?

पञ्चपुरी नगरपालिकाको वडा नम्वर ६ मा ८० प्रतिशत दलितहरुको बस्ती छ। गैरदलितहरुले छाउप्रथालाई बिस्तारै छोड्ड्दै गएका छन् । दलित समुदायमा अशिक्षा,अन्धबिस्वासका कारण यो समुदायमा भने छाउप्रथा अझै विद्यमान नै छ ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ६ की वडा सदस्य अनिता बिकले छाउपडी प्रथा अन्त्य गर्नका लागि सोचमा परिर्वतन ल्याउन जरुरी रहेको बताउछिन् । एक दुई दिन रमझम कार्यक्रम गरेर क्षणीक परिर्वतन हुने हो, यहा सोच परिर्वतनको आवश्यकता छ ।
उनले पछिल्लो पुस्ताले छाउपडीलाई हटाउनका लागि प्रयासरत रहेपनि पुराना पुस्ताबाट अस्वीकार भएकै कारण समस्या भईरहेको बताईन् । अहिलेका कसैले पनि छाउपडी मान्नुपर्छ भन्दैनन् तर के गर्नु तिनै घरमा सासु ससुरा लगायत अभिभावकहरु छन् उनीहरुका लागि पनि छाउगोेडमा बस्नुपर्छ । अन्धबिश्वासकै कारण महिलाहरु छाउपडी गोठमा बस्न बाध्य भएका छन् ।
“आफुलाई त घरभित्र नै बस्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ,” पञ्चपुरी नगरपालिका वडा नम्वर ६ कि अमरा बिक भन्छिन् तर के गर्नु घरमा सासु ससुराले पहिला देखि चलेको चलन बिग्रीयो भने देउता रिसाउछन भन्नुहुन्छ, बाहिर बस्न बाध्य छौ ।यस्तै पञ्चपुरी नगरपालिका वडा नम्बर ६ कि चन्द्रा बिक पनि छाउगोठमा बस्न आफ्नो रहर नभइ बाध्यता रहेको बताउँछित ।

छाउगोठमैं फर्किए महिला ?

साबिकको बाबियाचौर गाउ विकास समिति २०६८साल जेठमा छाउपडी मुक्त गाविसका रुपमा घोषणा भयो । तामझामका साथ गरिएको घोषणा घोषणामै सिमित बनेको छ । घोषणा गर्दा विभिन्न संघ संस्था द्धारा गरिएका घरदैलो, अन्तरक्रिया ,सडक नाटक जस्ता जनचेतनामुलक कार्यक्रमहरुले गर्दा क्षणीक रुपमा छाउगोठ छोड्यौ भनेका महिलाहरु अहिले फेरी छाउगोठमै फर्किएका छन् ।
छाउपडी प्रथा मुक्त भएको सात वर्ष बितिसक्दा पनि यहाका महिलाहरु छाउगोठ बस्न छोडेका छैनन् । अभियानका क्रममा गोठहरु भत्किए पनि सोचाईमा परिर्वतन आउन नसक्दा अहिले महिलाहरु कपडाका पालहरु लगाएर बाहिर बस्न बाध्य छन् ।
पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्ति रेग्मी पुरीले पश्चिमी क्षेत्रमा छाउपडी समस्या बिकराल बन्दै गएको भन्दै यसलाई अन्त्य गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्ने बताईन् । परम्परागत बुझाई र सोचका कारण यो समस्या यथावत छ यसलाई हटाउनका लागि सोच परिर्वतन गर्नुपर्छ, पुरीले थपिन, अब जसले यस्ता प्रथाहरु गर्छ त्यस्ता व्यक्तिलाई नगरपालिका बाट प्राप्त सेवा सुबिधाबाट बञ्चित सङ्गै कानुनी दायरामा ल्याइ कारबाही गर्न आफु लागि पर्ने बताइन्।
छाउपडी प्रथा जस्तो भेदभाव पुर्ण व्यवहारका विरुद्घ सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल बैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरि यो प्रथा अन्त्य गर्न आवश्यक निर्दे्शिका बनाई लागु गर्न आदेश जारी गरेको थियो । सोही अनुसार नेपाल सरकारले छाउपडी प्रथा बिरुद्ध एउटा निर्दे्शिका जारी कार्यान्वयनमा ल्याएको छ । तर वर्षौदेखि समाजमा जडा गाडेर बसेको कुप्रथालाई घोषणा गर्दैमा छाउपडी प्रथा अन्त्य हुन सक्दैन् यसका लागि सरकारी निकायबाट पनि बिशेष कार्यक्रमहरु मार्फत जनचेतना जगाउनुपर्छ साथै आम नागरिकहरुले पनि छाउपडी प्रथा बिरुद्धको अभियानमा हातेमालो गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *