धूलो भरिएको वीरगन्जमा हामी साहित्य लेख्थ्यौं

वीरगन्ज जान मलाई खासै कारण चाहिँदैन। वा भनौं, वीरगन्ज मात्रै यस्तो ठाउँ हो जहाँ म विनाकारण पुगिरहेको हुन्छु।

यो साता भने एउटा उद्देश्यका साथ वीरगन्ज गएको थिएँ, जसले मलाई नयाँ अनुभव दियो।

‘नेपाल–भारत साहित्य महोत्सव’ आयोजना आफैंमा महत्वपूर्ण थियो। पहिलो कुरा त यस किसिमको साहित्यिक गतिविधि नै वीरगन्जमा लामो अन्तरालपछि भएको हो। साहित्यिक कार्यक्रमनिम्ति यो सहरको विगत असाध्यै भव्य छ। नेपाली साहित्यका थुप्रै नाम यस सहरसँग जोडिएका छन्। महत्वपूर्ण साहित्यकार जन्माए–हुर्काएको कारण मात्र होइन, मुलुकका ठूल्ठूला नाम त्यहाँ पुगेर सक्रिय रहेको इतिहास छ।

पछिल्लो समय मुलुकभर साहित्यिक गतिविधि बढ्दै गएका बेला वीरगन्जमा पनि यस किसिमको आयोजना अपेक्षित थियो। संयोजक गणेश लाठले मलाई यो महोत्सवको पहिलो जानकारीसहित निम्तो दिएका थिए। म लाठलाई व्यक्तिगत रुपले चिन्दिनँ थिएँ। यसैपाला वीरगन्ज पुगेर चिनेँ। म त बरु उनका पिता र काकाहरुसँग परिचित छु।

गणेश एक साहित्यप्रेमी व्यापारी मात्र नभएर लेखककै रुपमा देखापरेका छन्। त्यसैले यसको आयोजनामा उनकै अग्रसरता महत्वपूर्ण थियो। वास्तवमा सबैथोक गणेशले नै गरेको मलाई लाग्दछ। त्यसैले यसको प्रथम श्रेय म उनैलाई दिन्छु।

यस किसिमको आयोजन अन्त कतै भएको भए जान्थेँ वा जाँदिन थिएँ, थाहा छैन। यो महोत्सवनिम्ति भने आयोजनास्थल वीरगन्ज भएकैले म पुगेको थिएँ। मेरो जन्म, कर्म, लेखन सबैको नाता वीरगन्जसँगै छ।

वीरगन्ज जाँदै गर्दा मलाई धेरै पुरानो सम्झना पनि आइरहेको थियो। त्यति बेला धर्मरत्न यमी, केदारमान ‘ब्यथित’ र सायद धुस्वाँ सायमीहरुसँग मैले रक्सौल पुगेरै कविता पाठ गरेको थिएँ। त्यो बेला कसरी त्यो रक्सौलमा आयोजना भएको थियो, अहिले याद छैन। त्यो धेरै अगाडिको कुरा हो।

त्यसपछि फेरि कहीँ कतै नेपाल र भारतका साहित्यकारको यस किसिमको जमघट भएको मलाई थाहा भएन। त्यसै कडीलाई यसैपाला वीरगन्जमा यो महोत्सवले निरन्तरता दिएको अनुभव गर्न पाइयो।

मैले लेखनको सुरुवात वीरगन्जबाटै गरेको हुँ। धूलो भरिएको वीरगन्जमा हामी साहित्य लेख्थ्यौं। त्योबेला सहरको मुख्य सडकधरि पक्की थिएन। ग्राभेलजस्तो थियो। एउटा रोलरजस्तो थियो जसले सडकका उबडखाबड सम्म पारिरहन्थ्यो। स्कुल हिँडेका केटाकेटी त्यसलाई रमाइलो मान्दै हेर्थ्यौं।
त्यो माटोका घरको वीरगन्ज थियो। हाम्रो सम्बन्ध पनि माटोजस्तै बन्न पुग्यो।

अहिले माटोका घर कमै छन्। आज त यो महानगर भएको छ। त्यसैले यदाकदा आजको वीरगन्जमा हामी छैनौं कि भनेर झसंग भइन्छ। तर, जसरी माटोका घर नभए पनि माटो त्यहाँ रहन्छ, त्यसरी नै हामी त्यहीँ छौं।

जतिबेला लेख्न सुरु गरेका थियौं, त्यतिबेला कुनै दिन म साहित्यकार बन्छु भन्ने अनुमानधरि थिएन। खासमा त म गायक हुन्छु भनेर सपना देख्थेँ। वीरगन्जका स्टेजमा, अझ खासगरी त्रिजुद्ध हाइस्कुलको सरस्वती पूजामा भव्य कार्यक्रम हुन्थे। सारा वीरगन्ज जम्मा हुन्थ्यो। उनीहरुले मलाई त्यहीँ सुनेका छन्। मेरो निम्ति सबैभन्दा ठूलो पर्व नै त्यही हुन्थ्यो।

मलाई अझै याद छ, सात कक्षामा ‘ह्वाट इज योर एम इन दी लाइफ?’ भनेर प्रश्न आएको थियो। मैले त्यसमा ‘म म्यूजिसियन बन्न चाहन्छु’ भनेर उत्तर लेखेको थिएँ। वास्तवमा त्यतिबेला मैले ‘सिंगर’ लेख्नुपर्नेमा ‘म्यूजिसियन’ लेखेर बिगारेको थिएँ। किनभने मेरो उद्देश्य त गायकै बन्ने थियो।

सात कक्षा पढ्दा पढ्दै एक दिन मलाई कविता फुरेको थियो। त्यो नै मेरो जीवनको पहिलो कविता थियो। त्यसैगरी कथाको सुरुआत पनि वीरगन्जमै गरेँ।

ती कथाहरु त्यो बेला कतै छापिएनन्। पछि अलिकता परिमार्जित गरेर केही प्रकाशित भए। जस्तो कि– ‘सानो सहरमा विमला’।

२०१८ सालमा लेखेको त्यो कथा त्यसको दुई वर्षपछि प्रकाशित पनि भएको थियो।

मेरो जीवनकै सबैभन्दा ठूलो अभिनन्दन पनि वीरगन्जमै भएको छ। त्यो २०६० सालमा वीरगन्ज उपमहानगरपालिका र उद्योग वाणिज्य संघ मिलेर गरेको थियो। त्यसको चिनो अहिले पनि मैले श्रद्धाको साथ राखेको छु।

जे होस्, लामो अन्तरालपछि यस्तो कार्यक्रममा वीरगन्ज आउन पाइयो। त्यसैले पनि ‘नेपाल भारत साहित्य सम्मेलन’मा बौल्दै गर्दा म भावुक बनेको थिएँ।
नत्र यसबीच म वीरगन्ज आउँथे र जान्थेँ। व्यक्तिगत रुपमै। यसरी आउँदा कोही कोही पुराना साथीहरु चिनेका भेटिन्थे। उनीहरु त्यही म गीत गाउने बेलाको सम्झना गर्थे।

तीमध्ये कतिपय साथीलाई म लेखक भएको कुरा पनि थाहा छ वा छैन भन्न सक्दिनँ।

यसपाला लेखकका रुपमा वीरगन्ज आउन पाएँ। यसरी साहित्यको एउटा जमघट, एउटा अनुभूति दिनरात हुने गरी वीरगन्जका र अन्यत्रबाट समेत यहाँ आएका कवि तथा लेखकका साथमा तीन दिनसम्म हामी सँगसँगै बस्यौं। मलाई खुसी के छ भने वीरगन्ज साहित्यिक गतिविधि अघि बढाउन फेरि तम्सिएको छ।

यसपटक वीरगन्ज रहँदा मैले थुप्रै कविहरुका रचना सुन्न पाएँ। अहिले पनि लेख्ने मानिसहरु उत्तिकै रहेछन्। यो त उर्वर भूमि नै हो। त्यसबाहेक यहाँ उल्लेख्य संख्यामा भारतीय कवि तथा लेखक आएका थिए। नेपाल र भारतका गरेर दुई सयभन्दा बढी साहित्यकारको जमघट थियो।

भारतसँग हाम्रा बहुआयामिक सम्बन्ध छन्। अरु किसिमका सम्बन्धमा त उतारचढाव हुन पनि सक्छ। तर, साहित्यिक र साँस्कृतिक सम्बन्धमा उतारचढाव हुँदैन। किनभने म मात्र होइन, मजस्ता धेरै मानिस हिन्दी साहित्य पढेरै आएका हौं। बरु अहिले मैले वीरगन्जमा पुस्तकालय कम देखेँ। हाम्रो समयमा त धेरै थियो। पाँच छवटै पुस्तकालय थिए। हामी दिनरात गइरहन्थ्यौं।

मेरो घर रहेको कुम्हालटोलमै ‘जुनेली पुस्तकालय’ थियो। त्यो पुस्तकालयले भारतबाट पुस्तकहरु मगाइरहन्थ्यो। यसरी अन्यत्र पाइने, पुस्तकालयमा भेटिने किताबले मात्र नभएर पार्सलबाट मगाएरै पनि पढिन्थ्यो।

त्यो बेला मैले अज्ञेय, धर्मवीर भारती, सर्वेश्वरदयाल सक्सेनाका किताब त्यसरी नै पार्सल गराएर मगाएको थिएँ। किताब आएपछि लिन रक्सौल जानुपर्थ्यो।

हामीले हिन्दीमा लेख्ने साहित्यकारका मात्र होइन, अन्य भाषामा लेख्नेहरु जस्तो शरतचन्द्र, रविन्द्रनाथ टैगोरलाई मैले हिन्दीमै पढेको हुँ। भारतीय मात्र होइन, संसारकै राम्रा लेखकहरुको किताब हामीले हिन्दी अनुवादै पढेका थियौं।

यसरी हामीलाई हुर्काएको नै हिन्दी साहित्यले हो। त्यसैले नेपाल र भारतको साहित्यिक सम्बन्ध आजको होइन, पहिलेदेखि चल्दै आएको हो। यो महोत्सवले त्यसलाई झनै अघि बढ्न ऊर्जा थपिदिएको छ।

यो महोत्सवको खासियत भनेकै भारतबाट प्रशस्त साहित्यकार आएका थिए। नेपालबाट पनि उत्तिकै सहभागिता थियो। लेखक मात्र होइन, लेखिकाहरु पनि राम्रो संख्यामा देखिए। यस्तो एकदमै कम हुन्छ।

यो महोत्सवमा खासगरी मैले विजय पण्डितलाई निकै सक्रिय पाएँ। उनी आयोजकमध्येकै एक भारतको ‘ग्रिन केयर सोसाइटी’का अध्यक्ष पनि रहेछन्। त्यसैगरी हरिद्वारबाट आएका शिक्षाविद् एवं वरिष्ठ साहित्यकार डा. योगेन्द्रनाथ शर्मासँग पनि धेरै कुराकानी र अनुभव आदानप्रदानको मौका मिल्यो। उहाँका कविताहरु पनि सुन्न पाइयो। हामीबीच विचार विमर्श भए। संगत गरियो।

मैले पहिले पढ्दैआएका भारतीय लेखकहरु त वीरगन्जमा भेट्न पाइनँ। तर, जे जति आउनुभएको थियो उहाँहरुसँग पनि परिचित हुने मौका मिल्यो। नेपालप्रति ठूलै सदासयता पनि देख्न पाइयो। शर्माजीले हरिद्वारमा यस्तै अर्को सम्मेलन आयोजना गर्ने जनाउँदै त्यसमा उपस्थितिका लागि निम्ता पनि दिनुभयो।

वीरगन्जभन्दा पहिले पनि भारतकै मेरठमा यस्तो महोत्सव भएको रहेछ भनेर पनि यहीँ आएर थाहा पाएँ।

यसरी भारत र नेपालका साहित्यको क्षेत्रमा लागेकाहरुले यस्ता गतिविधिलाई निरन्तरता दिने हो भने यसले हामी दुवैलाई धेरै फाइदा हुन्छ।

दुई मुलुकका सर्जकहरुबीच यस रुपमा निरन्तर अन्तर्क्रियाको मौका उपलब्ध गराउनु राम्रो कुरा हो। हाम्रो हिसाबले हेर्ने हो भने त भारतबाट हामीले धेरै फाइदा लिन सक्छौं। हाम्रा कृतिहरु राम्ररी अनुवादित भएर भारतीय बजारमै पुग्ने वातावरण बनिदियो भने पनि ठूलो उपलब्धि हात लाग्नेछ। यस किसिमको लाभ उनीहरुले पनि पक्कै लिन सक्नेछन्।

सिनेमाहरुमा सकिएपछि ‘दी इन्ड’ भन्छन्। तर, सबै सिनेमामा भनिँदैन। कसैकसैले अन्तिममा ‘दी बिगनिङ’ पनि भन्छन्। मैले यसलाई त्यही सुरुआतको रुपमा सम्पन्न भएको महोत्सवका रुपमा लिएको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *